Sunday, 17 January 2016

बिरामी भूकम्पपीडितको पीडा: 'यो हिउँद काट्न सक्दिनँ होला'

स्याउले५ मा उमेरले ८५ कटेकी एक बृद्धाको आवास पुग्दा लाग्थ्यो उनी आफ्नो मृत्यु देखिरहेकी छिन्।
झण्डै आधा फिटजति 'ग्याप' राखेर बाँसले बारिएको एउटा सानो छाप्रो। उनी त्यहिँभित्र चिसो भुईंमा जीवन र मरणको दोसाँधमा थिइन्। पुरानो तर पातलो सानो कम्बल ओडाइएको छ उनलाई। सिरानीसँगै बाख्राको खोर जोडिएको छ। चिसो भूईंमा एक सरो बिछ्यौनामा रात दिन कटाउन बाध्य छिन्।
सुतेकै ठाउँमा खाना खाने भएकाले उनको मुखबाट बगेको भातको सिता आधासरो ओछ्यान छरिन्छ। पिसाब गर्ने 'कोपारा'सिरानी छेऊमै घोप्टो अवस्थामा छ। जुठो थाल र कचौरा अनि प्लाष्टिकको अम्खोरा छेऊमै लडिरहेका दृष्यले पनि बताउँछ उनलाई हेरविचार गर्ने कोही छैन। उपचारमा लापरबाही भएकै कारण उनी मृत्यु कुर्न बाध्य छिन्।
रोगले ग्रस्त बृद्ध शरिर, त्यँहामाथि 'काल' बनेर आएको चिसो।
'मलाई चिसो भयो, अरु ओड्ने ओडाइदेऊ न' उनी भन्दै थिइन्। एक्लै अलपत्र अवस्थामा सानो गोठमा भेटिएकी यी बृद्धालाई न्यानोका लागि ओडाइदिने सामग्री त्यहाँ केही थिएन।
उनी बारम्बार दुखाई सहन 'ह्ँअअ, ह्ँअअ…' गरिरहेकी थिइन्। राम्ररी बोल्न नसक्ने उनी छेऊमा गएपछि बर्बराउन थालिन्,'बाबु को हो, किन नबोलेको, बोल न!' उनी एकोहोरो यही वाक्य दोहोर्‍याइरहेकी थिइन्।
बृद्धा सुतेको गोठकै तल्लो पाटामा एउटा अर्को टहरो छ। स्थानीयका अनुसार यो उनका छोराको हो। टहरो बाहिर एक रोगी महिला घाम तापेर बसिरहेकी थिइन्। उनी ती बृद्धाको बुहारी रहछिन्। आफ्नो उमेर र नामसमेत भन्न नसक्ने ती महिला पनि अशक्त छिन्। हिँडडुल गर्न सक्दिनन्। स्थानीयकाअनुसार बेलाबेलामा मानसिक सन्तुलन गुमाउने गरेकी ती महिला आफूलाई बढ्दो चिसोले सताएको बताउँछिन्। 'मुख फुलेको छ, जिऊ सुन्नेको छ,' उनले भनिन्, 'हिँडडुल गर्न सक्दिनँ, यो हिउँद काट्न सक्दिनँ होला।'
यी दुई दीर्घ रोगीका नाम र उमेर स्थानीयलेसमेत बताउन सकेनन्।
तस्बिरमा देखिएकी यी आमा मात्रै होइन, बढ्दो चिसोसँगै जिल्लामा दीर्घ रोगी अनि बृद्धबृद्धाको मृत्यु भएको खबर सञ्चारमाध्यममा आइरहेका छन्। चिसोले बिरामी परेकाहरुलाई यो 'मिन पचास' कट्नेमा शंका लाग्न थालिसकेको छ।
 विभिन्न पत्रपत्रिकामा चिसोले मृत्यु भएको खबर आउन थालेयता दीर्घ रोगीहरु आफू पनि मृत्यु कुरिरहेको हो कि भन्नेमा छन्। र, उनीहरु आफ्नो मृत्युको दिन गनिरहेका छन्।
बढ्दो चिसोका कारण अहिले जिल्लावासीलाई सकस भएको छ। भुईंचालोले घर भत्काएपछि जस्ता र पालको टहरामा जीवन बाँचिरहेका भुकम्पपीडित थप विमारी हुन थालेका छन्। विशेषगरि हिमाली गाउँमा रहेका भुकम्पपीडितलाई चिसोले सताएको छ।
स्याउले५ सिम्लेका ६९ वर्षिय जगतबहादुर तामाङ पनि चिसोका कारण थला परेका छन्। मध्यान्ह समयमा उनको घर पुग्दा उनी टहराबाट जसोतासो घस्रिएर बाहिर घाम ताप्न आएका थिए। 'चिसो बढेसँगै एकदमै खोकी बढेको छ,' उनले आफ्नो अवस्था बताउँर्दै भने, 'बेस्सरी छाती दुख्छ।' उनले पैसा नभएकै कारण औषधि खान नपाएको दुखेसो पोखे।
जगतबहादुरका सन्तान छैनन्। श्रीमतीले छाडेर गएको धेरै पहिल्यै हो। घरमा एक्लै बस्छन्। भुईंचालो गएको साढे नौ महिना बित्यो तर अहिलेसम्म राहत कार्ड बनाएका छैनन्। 'अरुले पैसा पाए, मैले पाइनँ,' उनले दुखेसो मान्दै भने, 'एउटा कम्बल पाएपनि यो जाडोमा ओड्न हुन्थ्यो, पैसा पाएको भए औषधि गर्नलाई खर्च मिल्थ्यो।'
उनले अरुले सुरुमा १५ हजार लिएको र त्यसपछि १० हजार लिएको सुनाउँदै आफूले नपाएकोमा दुःख व्यक्त गरे। औषधि गर्नै नपाएर मरिन्छ कि भन्ने डर लाग्न थालेको उनले सुनाए।
सिम्लेका अधिकांश बासिन्दा बिरामी पर्न थालेको स्थानीय चीनलाल तामाङ बताउँछन्।
बिरामी नातिनी स्याहारिरहेका उनी पनि बिरामी नै थिए। उनले 'चिसोकै कारण यहाँ धेरै बिमारी भएका छन्,' उनले भने, 'माथ्लो घरको ८० वर्षका बुढा पनि थलिएको धेरै भयो, उनकी श्रीमति पनि बिमारी छिन्।'
उनले आफू घरमुली भएकाले थलिदाँ समस्या भएको सुनाए। एकै टहरामा ७ जनाको परिवार बस्छन्। '११ वर्षकी कान्छी छोरीसमेत बिमारी परेकी छ,' उनले सुनाए, 'अहिले ऊ स्याउलेमा औषधि खोज्न गएकी छे।'
उनकाअनुसार स्याउले बजार पुग्न यहाँबाट झण्डै दुई घण्टा लाग्छ।
भुईंचालोपछि आफ्नो गाउँ पहिरोको उच्च जोखिममा रहेपछि विभिन्न गाउँ विस्थापित भई सेलाङस्थित बाँसखर्कमा आएका बृद्धबृद्धालाईसमेत यो माघ काट्न हम्मे परेको छ।
'गाउँका अधिकांश बिमारी छन्,' त्यहाँका अगुवा नेत्रबहादुर थापाले सुनाए, 'औषधि नहुँदा समस्या परेको छ।'
 बाँसखर्क जुगल हिमालको सम्मुखमा पर्छ। त्यहाँको सिरेटोले विस्थापितको बस्ती तुसारोले सेताम्मै हुन्छ। अधिकांश तामाङ समुदाय भएकाले यहाँ रहेका विस्थापितसँग जाडो छेक्ने राम्रो कपडासमेत छैन।
गोल्चेको लिदीबाट बाँसखर्क आएकी रिमामो दोङलाई अहिले रिंगटा लाग्ने समस्याले सताएको छ। 'चिसो बढेपछि यस्तो हुन थालेको हो,' उनले भनिन्, 'एकैचोटी रिंगटनले छोप्दा मरेतुल्य हुन्छु, जहाँ पायो त्यही ढल्नसक्छु,' उनले भनिन्।

No comments:

Post a Comment