पश्चिम तराईमा माघीको रौनक
- , बाँके/बर्दिया/दाङ
माघ १, २०७२- तराईका आदिवासी थारू समुदायको महान् पर्व माघीको रौनकले छाएको छ । माघीको स्वागत र मिठोमसिनो खान बिहीबार जिता (सुँगुर, बंगुर, कुखुरा र खसी) मारिएको छ । घरघरमा ढिक्री (चामलको परिकार) पाक्न थालेका छन् । जिता मारेलगत्तै गाउँमा रौनक सुरु भयो ।
सबै खानपिन र नाचगानमा रमाउन थालेका छन् । नयाँ वर्षका रूपमा मनाइने उक्त पर्वको रौनक पश्चिम तराईका बाँके, बर्दिया र दाङका थारू बस्तीमा साताभरचल्छ । नदी, खोलामा माघी नुहाउने तयारी पूरा गरिएको छ ।
माघी रमाइलोका लागि मात्र होइन, बहुआयामिक पर्व पनि हो, थारू अगुवाले भने । यसमा परिवारका सदस्य स्वतन्त्र हुन्छन् । उनीहरूलाई आत्मनिर्णयको अधिकार हुन्छ । त्यसैले यसलाई स्वतन्त्रताको पर्व पनि भनिन्छ । ‘सगोलमा बस्न नचाहने परिवारलाई छुट्टिने अधिकार हुन्छ । घरमूली फेर्न पनि पाइन्छ । गाउँका लागि आवश्यक पर्ने नियम बनाइन्छ । समुदायको अगुवा (बडघर) यही बेला चयन गरिन्छ,’ बाँकेका अगुवा नारायण चौधरी भन्छन्, ‘त्यसैले माघी बहुआयामिक पर्व हो । यसको विशेष महत्त्व छ ।’
त्यतिमात्रै होइन, माघी लोकतान्त्रिक पर्वका रूपमा समुदायमा स्थापित छ । यस दिन घरमूलीले परिवारका सदस्यका सामुन्ने वर्षभरिको आर्थिक आयव्याय र भए गरेका कामको मौखिक प्रतिवेदन पेस गर्छन् । चित्त नबुझेमा सदस्यले टिप्पणी गर्न पाउने छुट हुन्छ । बडघर छनोट गर्न गाउँभरिका परिवारका घरमूलीले आफ्नो मत वा तर्क गर्न पाउने अर्का अगुवा अवधराम चौधरी बताउँछन् । ‘बडघरको गत वर्ष गरेका कामका आधारमा मूल्यांकन गरिन्छ । चित्त नबुझे नयाँ छानिन्छ,’ उनले भने, ‘त्यसैले माघी सुरु भएसँगै बडघर पनि आफ्नो माहौल जुटाउन लागिपर्छन् ।’
माघी महत्त्वपूर्ण हुनुको वैज्ञानिक कारण रहेको अगुवाको तर्क छ । यो अवसरमा वर्षभरिको आयव्यय सार्वजनिक गर्नुका साथै आउँदो वर्षको कार्ययोजना बनाइन्छ ।
दाङका थारू गाउँमा नीति नियम तय गर्ने पर्वका रूपमा माघीलाई लिइन्छ । पश्चिम तराईका अधिकांश जिल्लाको माघी मनाउने तरिका एकै रहेको बरघर भलम्नसा महतवा महासंघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए । ‘अधिकांश थारू समुदाय कमैया, कमलरी, हरूवा र चरुवा भएकाले सबैको माघी मनाउने तरिका उस्तै नै छ,’ उनले भने, ‘केही जमिनदार थारू भएका गाउँले भने माघीभन्दा होली पर्वलाई बढी महत्त्वका साथ मनाउँछन् ।’
सती प्रथाको सम्झना स्वरूप नाचगान गर्दै खोलासम्म गएर नुहाएर फर्केपछि दिदीबहिनी तथा भान्जी, चेलीहरूलाई निसराउ अर्थात प्रसाद दिने चलन रहेको चौधरीले बताए । ‘थारू समुदायले चेलीबेटीलाई दान दक्षिणा गर्ने समय नै माघी हो,’ उनले भने,‘विवाहित सबै चेलीलाई निसराउ दिने चलन छ ।’
माघीको अघिल्लो दिन मिठा–मिठा परिकार बनाएर खाने र माघीको दिन गाउँका घरमूली जुटेर गाउँका नियम बनाउने चलन छ । महतवा को छान्ने, उनलाई कति अनाज दिने, कुलोपानी कसरी गर्ने जस्ता नियम माघीकै दिन तयार हुने उनले बताए । माघीमा थारू संस्कृति कसरी बचाउने भन्ने विषयमा पुराना र नयाँ पुस्ताबीच छलफल हुने थारू बुद्धिजीवी कुलवीर चौधरीले बताए । दाङका सौडियार, नारायणपुर, ढिकपुर, डुरुवा, मानपुर, उरहरी, हेकुली, रामपुर, लक्ष्मीपुर, लमही, सतबिरया, सिसहनिया, लालमटिया, गढवा, गंगापरस्पुर गाउँमा माघी धुमधामका साथ मनाइन्छ ।
बर्दियामा थारू गाउँमा बिहीबार बिहानैदेखि उत्साह र चहलपहल बढेको छ । थारू समुदायको नयाँ वर्षको सुरुवात र धार्मिक महत्त्वको चाड भएकाले बिहानै
नुहाई धुवाई गरेर सेतो चामलको टीका लगाउने चलन पनि छ । घरमा आएका चेलीबेटीका लागि नुन, चामल, दाल छुट्टाएर दिने चलन रहेको बाँसगढी–११ का बाधु चौधरीले बताए ।
ठाकुरद्वारास्थित ठाकुरबाबाको मन्दिरमा श्रद्धालुको भीड लागेको छ । माघीका अवसरमा हरेक वर्ष यहाँ साताभर मेला लाग्छ । थारू पुजारी भएको यस मन्दिरमा बॉके, सुर्खेत, कैलालीलगायत भारतबाट समेत श्रद्धालु दर्शन गर्न आउँछन् ।
पुसको अन्तिम दिन स्नान गरी शिवालयमा जल चढाएपछि ठूलाबडा र आफन्तसँग आशीर्वाद लिइन्छ । ०५७ अघि माघीकै दिन छोरीलाई साहू/महाजनका घरमा कमलरी, बुक्रेनी र कमैया राख्ने निधो हुन्थ्यो । सरकारले ०५७ साउन २ मा कमैया प्रथा अन्त्य गरेको घोषणा पछि अहिले यो परम्परा हटेको छ ।
Reference: ekantipur.com
No comments:
Post a Comment